World Public Library

तुङदुङ्‍गे मुन्धुम – किरात आख्यान – एक अध्ययन

Dr. Nawa Raj Subba

2023

Abstract

मुन्धुमः किरात जातिको परम्परागत ज्ञान हो। उनीहरू यसलाई आध्यात्मिक शक्ति मान्दछन्। मुन्धुमलाई किरातजन आर्यको वेदसरह आस्था गर्ने गर्दछन्। त्यसैले मुन्धुमी ज्ञानले नै किरात समुदायको धार्मिक तथा सांस्कृति पथप्रदर्शन गरेको हुन्छ। यसैले मुन्धुम किरात समुदायको जीवन दर्शन हो। मुन्धुमलाई किरात समुदायका विभिन्‍न आदिवासीका जनजीब्रोले आफ्नोपन थपिदिएको छ। मुन्धुमलाई किरात लिम्बूले मुन्धुम, राईले ‘मुन्दुम’, ‘मुदुम’, ‘दिउला’ भन्‍ने गर्दछन्। त्यसै गरी मुन्धुमलाई किरात सुनुवारले ‘मुक्दुम’ र किरात याक्खाले ‘मुन्तुम’ भन्‍ने गर्दछन्। यद्यपि, यो शब्द उच्चारणमा सुनिने ध्वनिसाम्य तथा समान अर्थका आधारमा यो सिद्ध हुन्छ कि रूपमा अनेकता तापनि सारमा मुन्धुम किरातका साझा ज्ञान हुन्। किरात मुन्धुमलाई विद्वानहरूले विभिन्‍न कोणबाट परिभाषित गरेका छन्। मुन्धुम शब्दमा रहेको ‘मुन्’ वर्णको अर्थ हल्लिनु वा घुम्नु हो। याक्थुङ भाषामा ‘मुरा’ वा ‘मु’ भन्‍नाले मुख वा मौखिक र ‘थुम’ भन्‍नाले बलियो भन्‍ने जनाउँछ। सोही आधारमा इतिहासकार इमानसिंह चेमजोङले पनि मुन्धुमलाई ‘ठूलो बलको शक्ति’ तथा ‘मौखिक रुपमा चलायमान ज्ञान’ बताएका छन्। अझ प्रष्ट पार्दै उनले मुन्धुमलाई किरातको वेद भनेका छन्। हुन पनि मुन्धुम वा वेद दुवैको अर्थ प्रकाशमय ज्ञान भएकाले किरात मुन्धुमलाई किरातको वेद भनिएको हो। किनभने यो मुन्धुमी ज्ञान प्रकाशमय छ जुन सर्वव्यापी र चलायमान हुन्छ। (Chemjong, 1965; 2003a, 2003b, 2003c) किरात समुदायका पुजारी फेदाङबा/मा, साम्बा, येबाले मुन्‍धुमलाई देववाणी बताउँदछन्।

Read this work at the World Public Library (library card needed).